नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो दुई दिनमा १४८ अंकको सुधार आएको छ । आज बुधबारमात्रै ९२ अंकको उत्साहजनक वृद्धि देखिएको नेप्से हिजो मंगलबार पनि उकालो लागेको थियो । हिजो ५६ अंकको सुधार आएको सेयर बजारमा आजमात्रै ९२ अंकको वृद्धि भएको छ ।
कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको छ ।
२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यस क्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा बढी कारोबार रकम हो ।
बजार ९२ अंकले बढेको दिन कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा ५०२ अंकको, निर्जीवन बीमा समूहमा ४८७ अंकको र उत्पादनमूलक समूहमा ४५२ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह २३० अंक, व्यापार समूह २०२ अंक र लघुवित्त समूहमा १८२ अंकको सुधार आएको छ ।
नेप्से परिसूचक उत्साहजनक रुपमा बढेको दिन आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थप ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।