नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । प्रतिष्पर्धी दीनानाथ गौतमलाई ७६ भोटले पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा पाैडेलको पक्षमा १६२ र गौतमको पक्षमा ८६ मत खसेको थियो । त्यसैगरी सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ “छिन्ताङ” बिजयी भएका छन् । सचिवका अर्का उम्मेदवार चितवनका रामचन्द्र अधिकारी र काठमाडौंका धर्म डंगोललाई पराजित गर्दै छिन्ताङ सचिवमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा काठमाडौंकी रुपा महर्जन श्रेष्ठ, नुवाकोटका रामप्रसाद ढुगाना र मकवानपुरका प्रेम बहादुर पुलामी बिजयी भएका छन् । सहसचिवमा सिन्धुलीका प्रकाश श्रेष्ठ, दलबहादुर बुर्लाकोटि र रसुवाका माधव लामिछाने विजयी भएका छन ।
निर्वाचनमा कुल २७५ मतदातामध्ये २६१ मत खसेको थियो ।
गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।
माओवादीमा विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् । अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसके पनि वागमती प्रदेशमा भने निर्वाचन भएको हो ।
कसले कति मत पाए ?