बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन भएको छ । डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । बुधबार राति मुख्यमन्त्रीमा नियुक्त उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले लगत्तै पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आजै उनलाई एमाले संसदीय दलको नेता चयन गरिएको थियो ।
यससँगै शाक्य नेपालको पहिलो पहिला मुख्यमन्त्री बन्न सफल भएकी छिन् । देश संघीयतामा गएपछि बनेको प्रदेश सरकारमा महिला मन्त्री भएपनि मुख्यमन्त्री बनेका थिएनन् अर्थात यसअघि सातै प्रदेशमा पुरुष मुख्यमन्त्री बनेका थिए ।
एमाले विभाजनपछि विकसित राजनीतिक घटनाक्रमपछि शाक्यले माैका पाएकी हुन् । माधव नेपाल पक्ष मानिएको भए पनि आज गठन भएको माधब कुमार नेपालको नयाँ पार्टीमा भने शाक्य समावेश छैनन् ।