ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिएकी छिन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै कुनै कर्मचारी अनियमितता र भ्रष्टाचारमा संलग्न भएको पाइए नछाड्ने बताइन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।
मन्त्री भुसालले भनिन्, ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहीँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदि कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ ।’
मन्त्री भुसालले किसानका लागि सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख
गरिन् । आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महसुल निर्धारण गर्ने निर्णय भइसकेको उनको जिकिर थियो।
उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरूको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य पुरा गर्ने गरी प्राधिकरणले काम अगाडी बढाएको बताए । उनले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भूमिगत गर्ने काम अगाडि बढेको बताए ।
त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भूमिगत गर्ने कामको प्रक्रिया शुरु भएको जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताए ।