सिस्ने गाउँपालिकामा छोरी बिमा कार्यक्रम उत्साहजनक

गणतन्त्र नेपाल संवाददाता, ३१ साउन

सिस्ने गाउँपालिका–८ की उर्मिला पुनको बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। एक वर्ष पनि उमेर नपुगेकी उनको बैंक खाता खुलेको छ र त्यसमा नगद पनि जम्मा भइसकेको छ। सिस्ने–२ की इभान्जली बुढाथोकीको पनि सदरमुकाममा रहेको एक बैंकमा खाता खोलिएको छ। उनको उमेर पनि एक वर्षभन्दा कम छ।

सिस्ने–५ की साहाना थापाको पनि बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। छोरी जन्मेपछि जन्मदर्ता गरेर उनीहरूका अभिभावकले बैंक खाता खोलिदिएका हुन्। त्यो खातामा सिस्ने गाउँपालिकाले रकम जम्मा गरिदिएको हो।

गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘छोरी बिमा कार्यक्रम’ सुरु गरेको छ। गत आर्थिक वर्ष मात्र वडा नम्बर ८ का एक वर्ष उमेर नपुगेका ८१ बालिकाको नाममा खोलिएको बैंक खातामा प्रतिव्यक्ति पाँच हजार रुपैयाँ जम्मा गरिदिएको हो।

छोरीको सुरक्षा, शिक्षा र परिपक्वताका लागि भन्दै गाउँपालिकाले छोरी बिमा कार्यक्रम सुरु गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए। २०७७ साउन १ गतेपछि जन्मेका निश्चित मापदण्ड पूरा गरेका छोरीको खाता खोलिएको र नगद पनि जम्मा गरिदिएको उनले जानकारी दिए। उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ।

‘जति निवेदन आउँछन्, ती सबैलाई पुग्ने गरी बजेटको व्यवस्था गरिएको छ,’ दाहालले भने, ‘बजेटका कारण कसैको खाता नखुल्ने वा खाता रित्तो हुने अवस्था हुँदैन।’

यस कार्यक्रमका लागि गाउँपालिकाले विभिन्न मापदण्ड तोकेको छ। छोरी जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गर्नुपर्ने, जन्मनुअघि चारपटक गर्भ जाँच, छोरी जन्माउन स्वास्थ्य संस्था जानुपर्ने व्यवस्था अनिवार्य गरिएको छ। कार्यक्रम सान्दर्भिक भएको सिस्ने–८ का सुवासले सुनाए। ‘यो रकम काफी छ भन्ने त होइन तर गाउँपालिकाले एउटा प्रणाली विकास गर्न खोजेको देखियो,’ उनले भने, ‘त्यसमा मात्रै छोरीचेलीलाई हिँडाउन सके उनीहरूको उज्ज्वल भविष्य हुनुका साथै सुरक्षा र परिपक्वता अवश्य बढ्नेछ।’

बैंकमा जम्मा भएको उक्त रकम छोरी २० वर्ष उमेर नपुगी निकाल्न मिल्दैन र त्यो उमेरसम्म उसको बिहे पनि गरिदिन पाइँदैन। बढ्दो बाल विवाह न्यूनीकरण र बालविवाहबाट हुने महिला हिंसा अन्त्य र बीचैमा पढाइ छाड्ने क्रम रोकियोस् भनेर यस्तो कार्यक्रम सुरुवात गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। ‘रकम थोरै होला,’ उनले भनिन्, ‘नीतिगत रूपमा छोरी बिमा कार्यक्रम महत्त्वपूर्ण छ।’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID