
गढवा, २५ माघ। दाङको गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीतिक तथा योजना तर्जुमा गोष्ठी सुरु गरेको छ।
गढवा गाउँपालिकामा रहेका जनप्रतिनिधि, सरोकारवाला निकाय, कृष्कहरु सहित संग त्यसबारे योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा गढवा गाँउपालिकामा सञ्चालित भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित रहेर समस्या पहिचान, बजारीकरणको समस्या, व्यवसायीक रुपमा कृषि तथा पशुको क्षेत्रमा काम गर्दा आईपर्ने जटिलताहरूको बारेमा छलफल तथा समस्या पहिचान गरी पञ्चवर्षीय योजना निर्माण गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो।
दिगो विकास लक्ष्य र स्थानीय तहको कृषि तथा विकास रणनीति तथा योजना बिना कृषि तथा पशु विकासमा सफल हुन धेरै अप्ठ्यारा चुनौतीहरु आईपर्ने भएकाले गढवा गाउँपालिकाले बिज्ञ सहितको उपस्थितिमा पञ्चवर्षीय योजना तथा रणनीतिको बारेमा तर्जुमा गोष्ठी सञ्चालन गरेको अध्यक्ष पोख्रेलले बताउनुभयो।
गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संग साझेदारी गरेर कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजना कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
हाल सम्म गढवा गाउँपालिकाले पशुको क्षेत्रमा खसीबोकाको सामुहिक बजारीकरण, उन्नत जातको बाख्रा तथा बोका वितरण, उपहार प्रदान कार्यक्रम सम्पन्न, उन्नत जताको रांगा बितरण, त्यसैगरी कृषि क्षेत्रमा कृषि उपज संकलन केन्द्रको स्थापना गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी संग सम्झौता गरी धानबालीको सरकारी दररेटमा बिक्री बितरण, दुग्ध संकलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
कार्यक्रम गढवा गाउँपालिकाको अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो। ६ नम्बर वडामा वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गोष्ठीमा राजेन्द्र प्रसाद भारी र सुभाष चन्द्र ढकालले प्रस्तुतिकलण गर्नु भएको थियो। कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत, कृषि तथा पशुपंक्षी बिकाश शाखाका प्रमुख तथा कर्मचारीहरु, पत्रकार, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नुभएको थियो ।
