घोराही, १७ मंसिर। साहित्यीक क्षेत्रमा जाजुल्लेमान सविन प्रियासनको उपन्यास अष्ट्रेलियामा पनि पढ्न पाइने भएको छ । अष्ट्रेलियाको सिडनीस्थित अवन लाइब्रेरीमा उपन्यासकार प्रियासनको सहनशीला उपन्यास राखिएको छ ।
उक्त लाइब्रेरीमा प्रियासनसहित अन्य ९ जाको पुस्तक पनि राखिएको समाजसेवी शिब थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अवन लाइब्रेरीमा नेपाली पुस्तकहरु नभएकाले आफ्नै अनुरोधमा गतवर्षदेखि त्यहाँ नेपाली पुस्तक राख्न सुरु गरिएको हो । पहिलो चरणमा गतवर्ष प्रियासनसहित १० जना लेखकको पुस्तकहरु लाइब्रेरीमा राखिएको र यसवर्ष ५० बढि नेपाली किताब पुनः थप गर्न लागिएको थापाको भनाइँ छ । यस विषयमा उपन्यासकार प्रियासनले भौतिकरुपमा आफ्नो बिदेश जाने इच्छा नभएपनि आफ्नो सिर्जना त्यहाँ गएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपाली पत्रकारिता, साहित्य र समाज सेवामा एक विशिष्ट पहिचान बनाउन सफल प्रियासन नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष र प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्षका रूपमा समेत उहाँ सक्रिय हुनुहुन्छ । ँ विगत १७ वर्षदेखि दाङको घोराहीबाट गणतन्त्र दैनिक पत्रिकाको सम्पादन र प्रकाशन गर्दै आउनु भएका प्रियासनले पत्रकारिता र साहित्यमा मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि उहाँको उत्तिकै सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।
दाङ युवा मञ्चको संस्थापक अध्यक्ष भएर युवाहरुलाई सामाजिक कार्यमा लाग्न विशेष भूमिका खेल्नुभएका प्रियासनले दाङ प्रादेशिक राजधानी सरोकार समितिको सदस्य सचिव भएर दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउन विशेष भूमिका खेल्नु भएको थियो । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको सदस्य सचिव भएर प्रतिष्ठान स्थापना देखि संचालनसम्ममा उहाँले भूमिका खेल्नुभएको छ । हाल घोराही बनाऔं अभियानको संयोजक भएर घोराहीलाई समृद्धिको उचाईमा पुराउने विशेष योजनाहरु अगाडी सार्दै आउनु भएका प्रियासनले हालसम्म साहित्यिक क्षेत्रमा १० वटा उपन्यास र १ वटा कथा संग्रह र १ वटा गैरआख्यान पुस्तक प्रकाशन गरिसक्नुभएको छ । प्रियासनको उपन्यासहरु रोदनपछिको…, भुमरी, पुनारागमन, पल्लबी, सहनशीला, सेल्फी, लक्कीचार्म, ब्रेकअप डायरी, लकडाउन लभ, एयरहोस्टेस बजारमा छन् । यसैगरी सपनाभित्रको सपना (कथा संग्रहं) र लेखहरुको संगालो सम्पादकीय पनि प्रकाशित भैसकेका छने ।
प्रियासनको लेखाइमा नेपाली समाज, राजनीति, र जीवनका विविध पक्षलाई प्रतिबिम्बित गरिएको हुन्छ । उहाँको लेखनमा सामाजिक यथार्थ, प्रेम, संघर्ष, र परिवर्तनको कथा पाइन्छ । सिविल इन्जिनियरिङमा अध्ययन गरेपछि उहाँले पत्रकारिता र साहित्यमा आफ्नो करियर निर्माण गर्नुभएको हो । उहाँको प्रारम्भिक शिक्षा घोराहीको सरस्वती विद्यालयमा भएको हो भने माध्यमिक शिक्षा घोराहीको पद्मोदयमा पूरा गर्नुभएको हो ।
साहित्य, पत्रकारिता र समाजसेवामा समर्पित प्रियासनले आफुले गरेको कयोगदानका लागि विभिन्न राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भइसक्नु भएको छ । प्रियासनलाई नेपाल सरकारले जनसेवा श्री पदकले विभूषित गरेको छ भने प्रेस काउन्सील नेपालले पनि सक्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यसबाहेक नेपाल पत्रकार महासंघ, प्रेस चौतारीलगायतका पत्रकारिता संग सम्बन्धित संघसंस्था अनि राप्ती साहित्य परिषद्ले पनि उहाँलाई पुरस्कृत गरेको छ । घोराहीमा क्रियाशिल त्रिभुवन नगर जेसीजले स्थापना गरेको दाङको उत्कृष्ट युवा पुरस्कार पनि उहाँले पहिलो पटक प्राप्त गर्नु भएको छ । साहित्य र पत्रकारितालाई संगसंगै अघि बढाउँदै, उहाँले स्थानीय समाजमा जागरूकता ल्याउने र समाजसेवाको माध्यमबाट सकारात्मक परिवर्तनको अभिप्रायले काम गरिरहनुभएको छ । उहाँका उपन्यासहरू विभिन्न पुस्तक महोत्सवमा चर्चित छन् र उल्लेखनीय मात्रामा बिक्री भएका छन् ।
उहाँको साहित्यिक यात्रा जनआन्दोलन २०६२÷०६३ को दौरानबाट विशेष रूपमा अघि बढेको हो । प्रियासनले अबको केही समयमा नै नयाँ उपन्यास सम्बन्धको कडी बजारमा ल्याउने तयारी गर्नु भएको छ । लेखन क्षमताका हिसाबले एक हप्तामै प्रियासनले उपन्यास लेखन सक्नु हुन्छ । प्रियासनले प्रकाशन गरेको सेल्फी उपन्यासको विषयमा म्षन्मा (वर्मा)मा नेपाली मूलकी माया खनालले कलेजमा सोधपत्र गर्नु भएको छ । यस बाहेक प्रियासनले लेखेका एक दर्जन गीतहरु विभिन्न नाम चलेका गायकगायकिकाहरुको स्वरमा युट्युबमा सुन्न अनि भिडियो हेर्न पाइन्छ ।