गढवा, ८ मंसिर। राजपुर गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा शनिबार राजपुर २ मटेरियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ३९ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन्।
शिविरमा ३० जनालाई निशुल्क चस्मा वितरण गरिएको छ। एकीकृत आँखा उपचार केन्द्र राजपुर, राजपुर २ मटेरियाकी प्रमुख आर्जु खनालका अनुसार, शिविरमा १ सय ३० महिला र १ सय ५ पुरुषको आँखा जाँच गरिएको थियो।
मोतिबिन्दुको शल्यक्रिया:
लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।
PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने प्रमुख आर्जु खनालले बताउनुभयो।
यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।