गढवामा भिटा परियोजनाको बार्षिक समिक्षा बैठक सम्पन्न

आलोक भावुक

गढवा, २४ असार। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) को परियोजना अनुगमन तथा समन्वय समितिको वार्षिक समीक्षा बैठक आइतबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

परियोजना सञ्चालन समितिका अध्यक्ष तथा गाउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको बैठकमा हालसम्म भए गरेका कामहरुको बारेमा जानकारी गराईएको थियो।

परियोजना मार्फत् हाल सम्म २३ वटा मुल समूहमा ६ सय १६ जना र ६६ वटा उपहार समूहगरी १ हजार ८ सय ४८ जनाको आबद्ध रहनु भएको छ। परियोजनाले हाल सम्म १ सय १२ बाख्रा उपहार, २९ वटा बोका उपहार र ५ वटा उन्नत जातको बिउ राँगा वितरण गरिको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

१सय २ वटा साना पशुको खोर निर्माण तथा सुधार, ५६ वटा ठुला पशुको भकारो निर्माण तथा सुधार, ४ वटा डिपिङ्ग ट्याङ्क पोर्टेवल निर्माण, व्यवसायीक तरकारी खेतीका लागि ४ वटा तालिम, भर्मी कम्पोष्ट मल उत्पादन सम्बन्धि १ वटा तालिम, १० ठाउँमा कम्पोष्ट मल उत्पादन केन्द्र स्थापना, ३ ठाउँमा सामुहिक बजारीकरण कार्यक्रम सम्पन्न, १ सय ६४ पटक तालिम, अनुगमन र स्रोत व्यक्ति परिचालन लगायतका धेरै उपलब्धि मूलक कार्यहरु भैसकेको संयोजक शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै परियोजना सञ्चालन समितिका अध्यक्ष तथा गाउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना गढवा गाउँपालिकाको गौरबको परियोजना भएको बताउदै यस परियोजनाले साच्चिकै उपलब्धि मुलक र परिणाममुखी कार्यहरु गरिरहेको बताउनुभयो। भिटा परियोजनाले महिला शसक्तिकरण, आत्मनिर्भर बन्नका लागि उत्पादनमा जोड र सहयोगी भावनाको बिकाश गरेको अध्यक्ष पोख्रेलले बताउनु भयो । भिटा परियोजना लाई अझ प्रभावकारी बनाउने बारे जनप्रतिनिधि र परियोजनामा कार्यरत कर्मचारीसबैजनाले अझ सशक्त रुपमा अघि बढ्न के गर्नु पर्छ भन्नेबारे सोच्नु पर्ने बताउनुभयो। परियोजना मार्फत् कृषि र पशुपालनको क्षेत्रमा आधुनिकिकरण गर्दै व्यवसायीक रुपमा लाग्न सबैलाई उत्प्रेरित गर्ने गरी काम गर्न आवश्यक भएको बताउदै भिटा परियोजनामा सबै भन्दा बढी लगानी गढवा गाउँपालिकाको भएको भन्दै हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित भएको बताउदै जनजन सम्म गढवा गाउँपालिकाको लगानीमा भिटा परियोजना सञ्चालन भएको बारेमा जानकारी गराउनु पर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले समन्वय र सहकार्य मार्फत भिटा परियोजना लाई नमुनाको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो। आवश्यक परेको खण्डमा बिज्ञ टोली सहितको सल्लाह सुझावको आधारमा अघि बढ्नु पर्ने बताउदै भिटा परियोजना गढवा गाउँपालिका सबै भन्दा ठुलो परियोजना भएको बताउनुभयो।

त्यसैगरी समिक्षा बैठकमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले भिटा परियोजना मार्फत सेवा ग्राही लाई स्थानीय तहसंग जोड्नु पर्ने बताउनुभयो । उत्पादनमा नलागे सम्म आत्मनिर्भर बन्न नसकिने बताउदै वडाध्यक्ष थापाले परियोजना मार्फत कृषि तथा पशुको क्षेत्रमा उत्पादनमा बढी जोड दिन आवश्यक रहेको समेत बिचार राख्नु भयो । परियोजना मार्फत् जनताको अनुहारमा खुसी ल्याएको बताउदै वडाध्यक्ष थापाले परियोजना लाई अझ सशक्त रुपमा प्रभावकारी ढंगले अघि बढाउने बारे जनताको राय संलग्न गरी त्यै अनुरूप काम गर्नु पर्ने बताउनुभयो।

सामाजिक परिक्षण प्रतिवेदन पत्रकार दशरथ घिमिरेले प्रस्तुत गर्नु भएको थियो। बैठकमा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, त्यसैगरी हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, भिटा परियोजनाका फोकल पर्सन भिमकान्त चौधरी, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत द्वय खेम चौधरी र अनन्त राज रेग्मी रहेको जभिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, सामुदायिक सहजकर्ता, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजना सामुदायिक सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।

 

मा प्रकाशित