गढवा, ११ असार। गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा आज मंगलवार छलफल भएको छ।
छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्र ज्योति संघ लमही आँखा अस्पताल संग साझेदारी गरेर आंखा उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम बाट जनतालाई धेरै सहजता भएको बताउनुभयो। कार्यक्रम नहुँदा गढवा गाउँपालिकाबासीहरुले नियमित आंखा चेकजाँच नगराउने मोतिबिन्दु भएका बिरामीहरू पनि कुरेर बस्ने अस्पताल सम्म नपुग्ने समस्या थियो भने कार्यक्रम सुरु भए पछी सबैको मोतिबिन्दु निशुल्क रुपमा उपचार भैरहेको बताउनुभयो। आखा उपचारको क्षेत्रमा गढवा गाउँपालिकाले गरेको काम प्रभावकारी भएको बताउनुभयो। आखा चेकजाँच निममित गर्नु पर्छ भन्ने हिसावले गढवा गाउँपालिकाले गढवा ३ गोबरडिहामा एकीकृत आंखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको र त्यस बाट उपचारमा थप सहयोग पुगेको जानकारी दिनुभयो।
गढवा गाउँपालिकाले गढवा – ३ गोबरडिहा र गढवा ८ कोईलावास बाट नियमित सेवा दिई रहेको बताउनुभयो। कोइलाबास आखा उपचार केन्द्र बाट भारत र नेपाल बिचको सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउदै कोईलाबासमा भारतीय मुलका नागरिकहरु बढी आउने गरेको जानकारी दिनुभयो। कोइलाबासमा मोतिबिन्दुका बिरामीहरुको शल्यक्रिया नियमित गर्नका लागि थप बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो। आगामी दिनमा निशुल्क आँखा चेकजाँच शिविर लाई बढाउदै लैजाने बताउनुभयो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ,उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मर राज शर्मा, र विज्ञ प्रा.डा किरण रेग्मी,समाज कल्याण परिसद अनुगमन मुल्यांकन विभागका सहायक निर्देशक पेम्बा तापाङ, नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का, प्रमुख प्रशासक सम्शेर थापालगायतकाे टाेलि विच गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उज्यालो कार्यक्रमको बारेमा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा छलफल भएको छ।