अमेरिकाले दिएको १५ लाख कोरोना खोप काठमाडौं आइपुग्यो

५० देखि ५४ वर्षका नागरिकलाई लगाउने तयारी

गणतन्त्र नेपाल संवाददाता / काठमाडौं /२८ असार,

एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । यो खोप नेपाल सरकारलाई अमेरिकाले उपलब्ध गराएको हो । कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकी सरकारले उपहारस्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताएका छन् । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिएका छन् ।

अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिए । राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने उनको जिकीर छ ।

मा प्रकाशित