राजपुर, ८ जेठ। नेपाल कम्युनिस्ट पार्टी राजपुर गाँउ कमिटीको प्रथम बैठक आज मंगलवार राजपुरमा सम्पन्न भएको छ। राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियामा बसेको पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठक सम्पन्न भएको हो।
बैठकले राजपुर गाउँपालिकाभरी समाजवादका पक्षमा भित्तेलेखन गर्ने, पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने, पालिकामा भइरहेका भ्रष्टाचार, अनियमितता, कालोबजारी, तस्करी, अवैध उत्खनन, चोरी, पैठारी विरुद्ध जनसंघर्स सञ्चालन गर्ने बैठकले निर्णय समेत गरेको नेकपाले जानकारी दिएको छ ।
यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ का इन्चार्ज बिक्रम सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सीले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले भन्नुभयो– ‘ नेपालका कम्युनिस्टहरु एकतावद्ध हुने बेला भएको छ , उनले भने , ‘ नेपालमा जतिपनी तितरबितर भएका कम्युनिस्टहरु छन् ती सबैलाई एकताबद्ध गर्नुपर्दछ । मुद्दा मिल्नेहरुसंग सहकार्य गरेर अगाढी बढ्नुपर्छ भने विचार मिल्नेहरुसंग पार्टी एकता गर्नुपर्दछ । यो हामिले परिस्थितिको बोध गरेर गरेको गरेका हौं । अमेरिकी साम्राज्यवादले नेपालबाट कम्युनिस्ट जनमतलाई सिध्याउन चाहेको छ । यो बेला हामिले कम्युनिस्टहरुको विशाल मोर्चा बनाएर प्रतिरोध गर्नुपर्दछ । अहिले हामिले बैठकबाट माओवादी धाराका बिचमा एकता गर्नुपर्दछ भनेर ढोका खुल्ला गरेर आएका छौँ । अहिलेको सन्दर्भमा नीति र नेतृत्वका हिसाबले विप्लव सर्वस्वीकार्य पात्र हुनुहुन्छ , नीति र नेतृत्व हाम्रो हुनुपर्दछ । हामी माओवादी धाराका बिचमा एकता गर्ने निर्णय गरेर आएका छौँ ।’
०८४ को निर्वाचनलाई अब नेकपाले प्रयोग गर्ने निर्णय गरेको कुरा सत्य हो , नेता सविनले थपे – ‘ हामिले पटकपटक निर्वाचन बहिस्कार गरेका थियौं तर ०८४ को निर्वाचनलाई उपयोग गर्ने भनेका छौँ । यो बिषयलाई आम नेताकार्यकर्ताले गहिरोगरि बोध गर्न जरुरी छ । चुनावलाई हेर्ने नेपालका कम्युनिस्टहरुका परम्परागत धारणा छन् , एउटा प्रयोगको नाममा संसदवादी लाइनमा पुगेर पतन हुने र अर्को बहिस्कारको नाममा कोठे क्रान्तिकारी बन्ने तर जनतामा पुग्न नसक्ने । हामिले चुनावका परम्परागत मान्यतालाई भत्काएर आएका छौँ । चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुँदैन , चुनावलाई क्रान्तिको समग्र मोर्चाको रुपमा हेर्नुपर्दछ । ०८४ को निर्वाचनलाई हामीले संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा सबै तहमा उपयोग गर्नुपर्दछ ।’
पार्टीका नेताकार्यकर्ता अब निर्धक्क भएर जनतामा जानुपर्दछ , उनले फेरि भने,‘ हामिले जनतामा गएर संसदवादीहरुले देखाएको नाँगो नाँचको भण्डाफोर गर्नुपर्दछ । अमेरिकी साम्राज्यवादले यतिबेला विश्वभरी आतंक मच्चाइरहेको छ । नेपालमा पनि एमसिसिको गुलियो विष सहित नेपाललाई सैन्य अखडा बनाउन आइपुगेको छ र नेपालका दलाल सत्ताधारीले दिनदहाडै यो मुलुकलाई लुटिरहेका छन् । अहिले राजनीतिमा प्रवेश गरेका नयाँ भनिएका रवीहरु पनि उहीँ ड्याङका मुला सावित भएका छन् , सबैभन्दा बढी भ्रष्ट उनिहरु नै छन् । अब हाम्रो कर्तव्य यो कुरा जनतालाई बुझाउनु पर्दछ र अबको विकल्प समाजवाद हो र नेतृत्व महासचिव विप्लवको हुनुपर्छ भनेर जनताको ठूलो हिस्सालाई क्रान्तीमा होम्नुपर्दछ । नेपालको दलाल पुजीवादसंगै जोडिएको संसदवादका विरुद्ध जनतालाई प्रशिक्षित गर्दै जानुपर्दछ र दलाल पुजीवादको चंगुलबाट नेपाली जनतालाई मुक्त गर्नुपर्दछ ।’
नेता सविनले पार्टीका नेताकार्यकर्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने अभियानलाई अझ थप व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँकमिटीका सेक्रेटरी सूर्य सीको सञ्चालन एवम अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी रहनुभएको थियो ।