गढवा, ३ जेठ। गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल को नीति तथा कार्यक्रम र बजेट तर्जुमा तथा पूर्व बजेट छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको नीति तथा कार्यक्रम र बजेट तर्जुमा तथा पूर्व बजेट छलफल तथा सुझाव संकलन कार्यक्रममा वर्तमान, निवर्तमान जनप्रतिनिधि, गढवामा क्रियाशील राजनीतिक दल, संघसंस्था,नागरिक समाज, पत्रकार, बुध्दिजिवि, समाजसेवी, सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुसंग राय संकलन गरिएको छ।
गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले आर्थिक वर्ष २०८१/०८२ को नीती कार्यक्रम तथा प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको समग्र विकासका लागि एक्लैले गरेर मात्र नपुग्ने भएकोले सरोकारवालाहरुसंग राय सुझावलाई गम्भीर रुपमा संकलन गरिरहेको बताउनुभयो। यसरी आएका सुझावबाट सबैभन्दा उपयुक्त सुझाव तथा कार्यक्रमलाई आर्थिक वर्ष २०८१/०८२मा निति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने बताउनु भयो। संघ सरकार बाट आउनु पर्ने समानीकरण अनुदान संघ सरकारले कटौती गरेका कारण कैयौ योजनाहरुको भुक्तानी गर्न समस्या परेको बताउनु भयो। संघ सरकारबाट १२ करोडको अनुदान आउनु पर्नेमा ८ करोड मात्रै आएकोले योजनाका कामहरुमा भुक्तानीको समस्या परेको बताउनु भयो। संघ सरकारबाट आउनु पर्ने अनुदान अनुसार कार्यक्रम बनाएर काम सम्पन्न गर्यो तर पछि ४ करोड कटौती गरेर अनुदान आउदा ठुलो समस्या परेको जानकारी दिनुभयो। देश आर्थिक संकटमा परेको बताउदै अध्यक्ष पोख्रेलले संघ र प्रदेश बाट आउने अनुदानहरु नआई दिदा समस्या परेको बताउनु भयो। स्थानीय सरकार लाई बलियो बनाउन आन्तरिक राजस्व बृद्धि गर्न आफ्नो तर्फबाट सबैले सहयोग गर्नु पर्ने बताउनुभयो। आन्तरिक राजस्व सङ्कलनमा चारै तिरबाट बाधा गर्ने गरी कार्य नगर्न सबैमा अनुरोध पनि गर्नु भयो। आन्तरिक राजस्वको प्रमुख स्रोत नदिजन्य पदार्थ र वन पैदावार भएको बताउदै अध्यक्ष पोख्रेलले नदिजन्य उत्खनन् लगायतका ठाउँमा राजस्व संकलनका लागि गरिने कार्यमा बाधा पार्ने काम नगरे सम्म विकाश सम्भव नहुने बताउनु भयो। आन्तरिक स्रोत मजबुत भए विकास निर्माणका साथै अन्य क्षेत्रमा समेत तिब्र गतिमा बिकाश हुने बताउनु भयो ।
कार्यक्रममा नागरिक समाज गढवा संयोजक खगेश्वर शर्मा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, शिक्षक महासंघ गढवाका अध्यक्ष दयाराम यादव, मुक्त कम्लहरी विकाश मञ्च दाङकी ज्ञानु थापा, हिमाल महिला बचत तथा ऋण सहकारी संस्था सहकारीका सिता थापा, ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ओम प्रकाश चौधरी, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठक, जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमाल, प्रधानाध्यापक राम सुरत यादव, जनता समाजवादी पार्टी गढवाका अध्यक्ष महबुब अलि, शान्ति पुनर्स्थापना गृह कोईलाबासकी प्रमुख सिमा जिसी, खानेपानी महासंघ गढवाकी उपाध्यक्ष बिष्णु माया बसेल, बाल कल्याण आधारभुत विद्यालय बालाखुटीका प्रधानाध्यापक तारा प्रसाद ढुङगाना लगायतकाले समग्र गढवा गाउँपालिकाको विकासका लागि सुझाव सल्लाह दिनु भएको थियो।
कार्यक्रममा कार्यक्रमको सञ्चालन योजना शाखाका प्रमुख प्रेम प्रकाश दाहालले गर्नु भएको थियो।