एमालेले बोलायो स्थायी कमिटी बैठक तर नेपाल पक्ष बेखबर

गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २७ असार,

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । कार्यदलको बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

नेपाल पक्ष भन्छ, ‘स्थायी कमिटी बैठकबारे थाहा छैन’

केपी शर्मा ओली पक्षको बैठकबारे माधव नेपाल पक्षले अनभिज्ञता प्रकट गरेको छ । नेपाल पक्षको अनभिज्ञताले एमालेभित्रको विवाद मिलाउने कार्यदलको प्रयास असफल भएको संकेत देखिएको छ । नेपाल पक्षका नेताले भने, ‘स्थायी बैठक बोलाइएको बारे हामीलाई जानकारी छैन ।’

कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला ओली पक्षले आइतबार अपरान्ह चार बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएसँगै विवाद समाधानको प्रयास निरर्थक बनेको आँकलन गरिएको छ । यसअघि बिहान कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई वरिष्ठ नेता माधव नेपालले अस्वीकार गर्दै सच्याउन भनेका थिए । नेपालले असहमति जनाएपछि कार्यदलका सदस्यहरु सहमतिका लागि पुनः छलफलमा जुटेका थिए । ओली पक्षका नेताहरुले आजै सहमतिमा हस्ताक्षर हुने दाबी गरेका थिए ।

सहमति नजुटी ओली पक्षले स्थायी कमिटी डाकेपछि माधव नेपाल पक्षमाथि कारवाही हुने सम्भावना बढेको छ । आजको बैठकमा पूर्व माओवादी पक्षबाट थपिएका स्थायी समिति सदस्यहरु पनि सहभागी हुने बताइएको छ । यद्यपि, सिंहदरबारमा कार्यदलको बैठक भने जारी नै छ ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID