नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाइड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।
कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय आध्यात्ममा लागेको बताउने उनी पशुपति क्षेत्रमा भेटिने गरेकी थिइन् ।
कुँवरको सुसाइड नोटमा लेखिएको छ : ‘पुलिस दाजु, यसमा कसैको दोष छैन’
थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृत फेला परेकी नायिका कुँवरको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । जानकारहरुका अनुसार उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् ।
ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् । म आफैंले गरेको हो’ नोटमा भनिएको छ – ‘यसमा कसैको दोष छैन ।’
श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्याको बाटो रोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फरेन्सिक चिकित्सकले शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेका छन् ।