
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक बनेपनि कुनै ठोस सहमति नभएको नेताहरुले बताएका छन् । दुई नेताबीच राजधानीको एक होटलमा बुधबार राति करिब दुई घण्टा छलफल भएपनि कुनै ठोस सहमति बिनै बैठक सकिएको हो ।
बैठकपछि एमाले विवाद मिलाउन गठित कार्यदलका नेपाल पक्षीय संयोजक भीम रावलले एकतालाई कसरी अघि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको बताए । ‘पार्टी एकतालाई कसरी अघि बढाउने र कसरी सकारात्मक परिणाममा लैजाने भनेर छलफल गरेका छौँ’, बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘यस सम्बन्धमा पुनः कुराकानी हुनेछ ।’
उनले पार्टी एकतालाई टुंगोमा पुर्याउन गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गरिएको भन्दै यसबारे कार्यदलमा पनि छलफल जारी रहेको बताए ।
यस्तै नेता सुरेन्द्र पाण्डेले शीर्ष तहमा छलफल भएको भन्दै भोलि कार्यदल र शीर्ष तहमा पनि छलफल गरेर सहमतिमा पुग्न प्रयास गरिने प्रतिक्रिया दिए ।
बैठक पछि ओली र नेपाल भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिइकन बाहिरिएका थिए । स्रोतका अनुसार आजको बैठकमा लामो समयपछिको प्रत्यक्ष भेटघाट भएको र सम्बन्धमा निकै चिसोपना रहेकाले सामान्य भलाकुसारीमा केन्द्रीत भएको थियो । स्रोतका अनुसार बैठकमा माधव नेपालले पावर सेयरिङ, ओलीको कार्यशैलीलगायतका विषयमा प्रश्न उठाए पनि ओली आफ्नो पूर्ववत अडानमा अडिग देखिएका थिए ।







