गढवा, १७ फागुन। गढवा गाउँपालिका वडा नम्बर ५ स्थित माध्यमिक विद्यालय चैनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर अपराध तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले साईबर क्राईम तथा ट्राफिक नियम सम्बन्धि महत्वपूर्ण जानकारीवारे विद्यार्थीहरुलाई जान्न आवश्यक रहेको बताउनुभयो।
पछिल्लो समयमा सवारी दुर्घटना बढी हुने गरेको र दुर्घट्नामा सबैभन्दा बढी क्षति युवापुस्ताको हुने गरेको बताउदै युवाहरुलाई ट्राफिक नियमबारे जानकारी दिन आवश्यक रहेको बताउनुभयो। युवा वर्ग सचेत र जानकार नभए सम्म सडक दुर्घटनामा कमी नआउने बताउनुभयो। साईबर क्राईम अन्तरगत सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका अपराधका घट्नाहरु बढीरहेकोले विद्यार्थीहरुले त्यस्ता कार्यहरु बाट सजग रहनुपर्ने बताउनुभयो।
त्यसैगरी सचेतनामूलक कार्यक्रम बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले विद्यार्थीभाई बहिनीहरुलाई लागु औषध दुर्व्यसन, साइबर क्राईम तथा ट्राफिक नियम सम्बन्धि पुर्ण जानकारी दिनुपर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताउनु भयो। विद्यार्थीहरुलाई किताबी ज्ञान संगै व्यवहारिक ज्ञान, जिवन उपयोगी ज्ञानहरु दिनु पर्ने बताउनुभयो। सचेतनामूलक कार्यक्रमबाट सिकेको कुरा सतप्रतिशत व्यवहारमा उतार्न सहभागीहरुलाई अनुरोध समेत गर्नु भयो।
इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक नविन वलीले समुदाय प्रहरी साझेदारी कार्यक्रम गढवाकाे विभिन्न विद्यालयहरुसँग सहकार्य गरेर अगाडी बढाएको बताउनुभयो।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध, साईवर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम जारी रहेको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो।
गढवा गाउँपालिका वडा नम्बर ५ र इलाका प्रहरी कार्यालय गढवा दाङको संयुक्त आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा कक्षा ९ देखी १२ सम्मका विद्यार्थीलाई साईबर क्राईम तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम माध्यमिक विद्यालय चैनपुरमा गरिएको हो ।
सचेतनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, माध्यामिक विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारी, प्रहरी नायव निरीक्षक भुपेन्द्र गोली, प्रहरी सहायक निरीक्षक सचिन केसी, प्रहरी हवल्दार सञ्जय थारु,शिक्षक, विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन ईप्रका गढवाका प्रहरी निरीक्षक नविन वलीले गर्नु भएको थियो ।