
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीलाई खलपात्रको संज्ञा दिएका छन् । आज बिहान आफ्नै निवास खुमलटारमा विपक्षी गठबन्धन निकटका विद्यार्थी नेताहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र केपी ओली बनाइएको बताएका हुन् ।
उनले ओली चारैतिर घेरामा परेको बताउँदै आफूहरु बलियो बन्दै गएको स्पष्ट पारे । ओेली र विपक्षी गठबन्धन केवल सत्ता र कुर्सीको लागि लडिरहेको आरोप लगाउनेहरुलाई जवाफ दिँदै प्रचण्डले आफूहरु र ओली एउटै नभएको प्रष्ट पारे । उनले भने, “सम्पूर्ण रुपमा आत्मसर्मपण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन । २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे । दुबैलाई उस्तै भन्ने त ?”
विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको दोहो-याउँदै अध्यक्ष प्रचण्डले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवामा सही कुराको सम्प्रेषण हुने जिकीर गरे ।
विद्यार्थीहरुले संविधानको रक्षा गर्न, लोकतन्त्रको जगेर्ना गर्न र प्रतिगमनका विरुद्ध पाँच राजनीतिक दलहरु आन्दोलनरत रहेको उल्लेख गर्दै संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हकलाई सरकारमा रहँदा नरहँदा हरहालतमा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउन दलका नेताहरुलाई अनुरोध गरेका छन् ।
सो अवसरमा विद्यार्थी नेताहरुले एक अन्तर्क्रियात्मक कार्यक्रम गर्ने र सो कार्यक्रममा सहभागी भइदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरे । जनतामा भएको निराशालाई आशामा परिणत गर्न नेताहरुबाट सार्वजनिक प्रतिबद्धता आउनु पर्ने विद्यार्थीहरुको आग्रह छ ।







