
दाङ, २८ पौष। दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।
काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाड्डले जानकारी दिएको छ।
मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको कार्यालयकी प्रहरी जवान रेनु बोहराले जानकारी दिनुभयो । घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताउनुभयो।
घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजना बुटवल र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र नियन्त्रणमा रहेको बोहराले जानकारी दिनुभयो।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।
