नेपाल पक्षको अडान : सहमतिमा बैठक बोलाउनुपर्ने नत्र सहभागी नहुने

२ बुँदे निर्णय

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिमा बैठक बोलाउनुपर्ने नत्र बैठकमा सहभागी नै नहुने निर्णय गरेको छ । नेपाल पक्ष पार्टीले भोलि शुक्रवारका लागि डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।

सहमतिको आधारमा स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने शर्त नेपाल समूहको छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीले नभई स्थायी कमिटीको बैठकमार्फत केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष भीम रावलले भोलि शुक्रवारको बैठकमा सहभागी नहुने सामूहिक सर्वसम्मत निर्णय भएको बताए। नेपाल पक्षले २ बुँदे प्रस्ताव पारित गर्दै सहमतिका आधारमा बैठक बोलाउन माग गरेको छ । ‘नवौं महाधिवेशनबाट निर्वाचित निकायलाई जेठ २ गते अगाडिको अवस्थामा पुर्‍याउन आग्रह गरिएको छ । विधान विपरीत गठित दशौं महाधिवेशनको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल नहुने भएकाले १८ गतेको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान गर्नुपर्छ,’ प्रस्तावबारे रावलले भनेका छन् ।

दोस्रो प्रस्तावमा नेकपा एमालेलाई एकताबद्ध रूपमा अगाडि बढाउन उचित र सार्थक बैठक राखी सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने रहेको छ । नेता रावलका अनुसार केन्द्रीय कमिटीको बैठकभन्दा अगाडि सहमतिको आधारमा स्थायी कमिटीको बैठक बोलाइनुपर्ने नेपाल पक्षको अडान रहेको छ ।

संस्थापन पक्षले भने भोलि शुक्रवारको बैठक नरोकिने बताएको छ । बुधवार बसेको बैठकले भोलि बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मा प्रकाशित