देवीकोटको चुचुरोबाट खुला आकाशमा उडान भर्दा…

दशरथ घिमिरे

देउखुरी, १६ मंसिर। दयाराम चौधरी राप्ती गाउँपालिका–४ स्थित सुन्दरपुरको चौरमा पुग्नुभयो । माथि देवीकोटको चुचुरोबाट प्याराग्लाइडिङ्ग उडान भरेकाहरु ल्याण्ड हुने ठाउँ थियो । आकाशमा चरा झैं उडेका मानिसको स्वागतको लागि पुग्नेहरुको संख्या बाक्लिदै गयो । ‘हाम्रो आकाशमा पनि प्याराग्लाइडिङ्ग सम्भव देखियो’– चौधरीले भन्नुभयो– ‘अब यहाँको पर्यटन क्षेत्रमा नयाँ इँटा थपिने भयो ।’ आकाशमा उडान भर्ने पहिलो यात्रु भने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट हुनुहुन्थ्यो ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले आफ्नै ठाउँको देवीकोटको चुचुरोबाट आकाशमा पहिलो पटक उडान भर्नुभयो । पोखरामा प्याराग्लाइडिङ्गको उडान देख्नु भएका विष्टलाई आफ्नै ठाउँको पहाडको चुचुरोबाट उडान भर्न सकिन्छ जस्तो लागेको थियो । शुक्रबार पहिलो पटक देवीकोटबाट सफल परीक्षण उडान गरिएको प्याराग्लाइडिङ्गमा विष्टले ३० मिनेट आकाशमा बिताउनुभयो । ‘पहिलो अनुभव, चरा झैं आकाशमा उडान भरियो’– उहाँले अनुभव सुनाउँदै भन्नुभयो– ‘अब यहाँ नियमित र व्यावसायिक उडान भर्नेगरी पर्यटन क्षेत्रमा लगानी बढ्छ । राजधानी क्षेत्र भएकाले पनि अब यहाँको पर्यटन क्षेत्र नयाँढंगले अघि बढ्नेछ ।’

विष्ट मात्रै होइन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पनि उडान भर्नुभयो । यस क्षेत्रमा प्यारा ग्लाइडिङ्ग गर्दा पर्यटन विकासमा महत्वपूर्ण सहयोग र सफलता मिल्ने सभामुख घर्ती मगरले बताउनुभयो । ‘अब यस क्षेत्रमा कृषि खपत र स्थानीयमा पर्यटक आवागमनले नयाँ ऊर्जा थप्नेछ’– उहाँले भन्नुभयो– ‘पर्यटन प्रबद्र्धनमा नयाँ उचाइ थपियो ।’

राप्ती गाउँपालिका–४ का अध्यक्ष वीरबहादुर चौधरीले पनि प्यारा ग्लाइडिङ्गबाट उडान भर्नुभयो । ‘पर्यटन प्रबद्र्धनमा नयाँ काम भयो’– उहाँले भन्नुभयो– ‘साहसिक पर्यटनको लागि अब राप्तीमा प्याराग्लाइडिङ्ग गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भयो ।’ व्यावसायिक उडान भर्न आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खुला गर्ने तयारी समेत शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट व्यावसायिक उडान भर्न अनुमति लिइएको बाबु इडभेन्चर्सले जनाएको छ । शुक्रबार रिडी राप्ती ग्रुपका अध्यक्ष मानबहादुर बुढा, महिला नेतृ दिलकुमारी रोका, पत्रकार गोविन्द खड्काले पनि उडान भर्नुभएको थियो ।

शुक्रबार १० वटा परीक्षण उडान गरियो । रिडी राप्ती ग्रुप र बाबु एडभेन्चर्सको सहकार्यमा परीक्षण उडान गरिएको हो । देवीकोटबाट प्याराग्लाइडिङ उडानसँगै लुम्बिनी प्रदेश क्षेत्र राप्ती उपत्यकासँगै राप्ती नदीको सुन्दर दृष्य, देउखुरीको अवलोकनसँगै बंगलाचुलीको समेत अवलोकन गर्न सकिने छ । पहिलो चरणमा पाइलटहरुले उडान गरेर परीक्षण गरेका थिए भने त्यसपछि थप एकजना यात्रुलाई बोकेर उडान भरिएको थियो । देवीकोटसम्म पुग्न सडक सुधार गर्ने काम भइरहेकाले अब पर्यटकहरुलाई पुग्न सजिलो हुने राप्ती–९ का अध्यक्ष रिमबहादुर सुनारी मगरले बताउनुभयो ।

‘बाटो अप्ठ्यारो हो । यसमा काम भइरहेको छ’– उहाँले भन्नुभयो– ‘अब सजिलोसँग यहाँ आउन सक्ने र उडान भर्न सकिन्छ ।’ प्याराग्लाइडिङ्ग उडान बाबु एड्भेन्चर्सका पाइलटहरुले गरेका छन् ।

१० करोडको लगानीमा एग्रो रिसोर्ट बन्दै

प्याराग्लाइडिङ्गको लागि पोखराको सराङ्कोट चर्चित छ । प्याराग्लाइडिङ्ग गर्न चाहने जो कोही पनि सराङ्कोट नै जानुपर्ने बाध्यता छ । अब प्याराग्लाइडिङ्ग दाङको राप्ती गाउँपालिका बडा नं.९ देवीकोटबाट पनि गर्न सकिने भएको छ । देवीकोटबाट प्याराग्लाइडिङ्गको सफल परीक्षण उडान गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरुपमा प्याराग्लाइडिङ्ग उडान परीक्षणको उद्घाटन गर्नुभएको छ ।

रिडी राप्ती ग्रुप प्रालिले एग्रो रिसोर्ट र प्यारा ग्लाइडिङ्ग सञ्चालनमा ल्याउन थालेको रिडी राप्ती ग्रुप प्रालिका अध्यक्ष मानबहादुर बुढाले जानकारी दिनुभयो ।

देवीकोटबाट उडान परीक्षण गर्नुको साथै देवीकोटमा रिसोर्टको समेत शिलान्यास गरिएको छ । स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणको लागि एग्रो रिसोर्ट स्थापना गर्न थालिएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID