
दाङ, १२ मंसिर। दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको समग्र विकासका लागि विशेष भेलाको तयारी गरेको छ । दाङमा अत्यावश्यक एयरर्पोट, औद्योगिक क्षेत्र, फोरलेन सडक जस्ता आवश्यक कुराहरु निर्माण गर्न सहयोगी भूमिका खेल्ने र वातावरण निर्माण गर्ने उद्देश्यले यही मंसिर २० गते आयोजना गर्न लागिएको सर्वपक्षीय भेला दाङ जिल्लाको सर्वोत्तम हितमा छ ।
विगतमो पनि उवासंघले दाङमा प्रादेशिक राजधानी बनाउने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना देखि सञ्चालन गर्नेलगायतका वहुआयामिक कार्यको नेतृत्व गरेको थियो । यस हिसाबले पनि उवासंघले जिल्लामा विकासको लहर सिर्जना गर्न अग्रसरता देखाउनु सुखद पक्ष हो । कुनै एक क्षेत्रले मात्र चाहेर समृद्धि र विकासको यात्रा सम्भव छैन । यस मानेमा समाजमा क्रियाशिल सबै व्यक्ति, संघसंस्थाहरुले पनि विकास र समृद्धिको लागि भूमिका खेल्नुपर्छ ।
यतिबेला विकास र समृद्धिको योजनालाई सार्थक बनाउने कार्यकारी जिम्मेवारी स्थानीय सरकार, प्रदेश सरकार अनि केन्द्रीय सरकारलाई छ । तर सबै सरकार त्यतिबेला सफल बन्न सक्छन्, जतिबेला स्थानीयस्तरमा रहेका संघसंस्थाहरुले विकासको सवालमा सकारात्मक भूमिका निर्वाह गर्न सक्छन् । यस हिसाबले पनि उवासंघले देखाएको अग्रसरता दाङकै हितमा छ । जो सुकैले विकास र समृद्धिका लागि आवाज उठाएपनि भूमिका निर्वाह गरेपनि यसमा सबैको साथ सहयोग आवश्यक छ ।
जिल्लामा एयरर्पोट नियमितरुपमा सञ्चालन हुन सक्यो, फोरलेन सडक बन्यो, औद्योगिक क्षेत्र निर्माण भयो भने यो कुनै एउटा व्यक्ति विशेष वा कुनै विचार समूहको लागि मात्र काम लाग्दैन । तसर्थ सबै मिलेर जिल्लाको साझा आवश्यकतालाई सार्थक बनाउन साथसहयोग गरौं । दाङ उवासंघले सुरु गर्न लागि रहेको छलफलमा निश्वार्थ भावनाले सहभागि बनौं । जनप्रतिनिधिहरुले समेत यस प्रकारका अभियानहरुलाई आफूसँगको प्रतिष्पर्धा भन्दा पनि हामीलाई सहयोग गर्न सुरु गरिएका अभियानहरु हुन् भन्ने निष्कर्ष निकाले यस प्रकारको अभियानमा दरिलो सहभागिता जनाउनुपर्छ ।
दाङ उवासंघले सुरु गर्न लागि रहेको दाङ बनाउने अभियानमा सबैको बलियो सहभागिता हुनुपर्छ । दाङको प्रगति र विकासका लागि पनि यस प्रकारको अभियान अनि छलफल अपरिहार्य छ ।





