शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानताः मन्त्री शर्मा

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, ६ मंसिर । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न लुमन्ति गुथिले शंखधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक न्याय र समानताको सपना पूरा गरिने बताउनुभयो । शंखधरले विसं ९३६ मा गरिवलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराएको र त्यसकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख मन्त्री शर्माले भन्नुभयो– ‘एकातिर गरिव जनतालाई ऋण मुक्त गर्नु र अर्कोतिर जातीय विभेदको अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शंखधर साख्वाःबाट आजका पुस्ताले उल्लेखनीय प्रेरणा लिनु जरुरी छ ।

अहिले पनि हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिकलगायतका तमाम उत्पीडिनबाट मुक्तिका लागि काम गरिरहेका छौं ।’ नेपालमा चलेका ठूलाठूला संघर्ष र क्रान्तिहरु समानताका लागि भएको उल्लेख गर्दै उहाँले राजनीतिकरुपमासबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने उद्घोषसहित सबै क्षेत्र र समुदायका अधिकार संविधानमा उल्लेख गरे पनि व्यवहारतः अझै सबैले समान अधिकारको महसुस गर्न नसकेको पनि बताउनुभयो । ‘आजका दिनमा हेर्दा राजनीतिक व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी नै छ’– मन्त्री शर्माले भन्नुभयो– ‘त्यसैले हामीले राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोहुँदै समाजवादको आधार तयार पार्नुपर्छ भनिरहेका छौं ।’ सरकारले यसलाई नै आफ्नो मार्गदर्शन बनाएर अघि बढिरहेको चर्चा गर्दै उहाँले शंखधरको योगदानको स्मरण गरिरहँदा आज पनि धेरै कुरासँग मेल खाने अवस्था रहेको चर्चा गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो– ‘एकातिर ऐतिहासिक व्यक्तित्व शंखधर साख्वाःको जीवन र सपनासँग जोडिएको नेपाल संवतलाई सरकारी मान्यता दिन प्रचण्ड नेतृत्वको अहिलेको सरकारबाट नै संभव भयो भने अर्कोतिर उहाँको योगदानसँग जोडिएको सामाजिक न्यायको पाटोलाई वर्तमान सरकारले मूल मन्त्र मानेर अघि बढेको छ ।’ ‘नेपाल संवत् अब राष्ट्रिय संवत्’ कार्यक्रममा मन्त्री शर्माले नेपाल संवत अब राष्ट्रिय संवत्को रुपमा प्रचलन आउने बताउनुभयो । ‘विसं २०६५ सालमा तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने घोषणा गर्नुभएको थियो । अहिले फेरि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्ले कार्तिक २७ गते सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेको यहाँहरुलाई जानकारी नै छ’– उहाँले भन्नुभयो– ‘नेपाल संवत ११४४ को सुरुवातदेखि नै अब विक्रम संवत् उल्लेख गरिने सबै कागजातमा नेपाल संवत् उल्लेख गर्न सुरु गरिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मान र नेपालको मौलिक संवत्को कार्यान्वयनको सवालमा यो ऐतिहासिक निर्णय हुनेछ भन्ने सरकारको अपेक्षा रहेको छ ।’ सो क्रममा मन्त्री शर्माले शंखधर साख्वाःको योगदानलाई चिरस्थायी बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक तथा नागरिक आन्दालनका अगुवा पद्यरत्न तुलाधरको सालिकमा माल्यार्पण गर्नुभएको थियो । राजनीतिक परिवर्तनका लागि चलेको सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने तुलाधरको अभाव आज पनि खड्किएको उहाँले स्मरण गर्नुभयो । हिजो मात्रै शान्ति प्रक्रिया सुरु भएको १७ वर्ष पुगे पनि अझै शान्ति प्रक्रिया अझै टुंगोमा नपुग्दा पद्यरत्नको अभाव अझै महसुस भएको उहाँले बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID