मुखै रसाउने चुकाउनी खान मन छ ? यसरी बनाउनुस्

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, ९ कात्तिक। आजभन्दा झन्डै ४६ वर्षअघि नै विदेशी भान्छामा प्रवेश पाइसकेको चुकाउनी शाकाहारी र बनाउन सजिलो परिकार हो।

संसारका ७५ वटा चर्चित ‘मुखै रसाउने आलुका परिकार’ विशेषांकका रूपमा केही वर्षअघि निस्किएको पुस्तकमा चुकाउनी समावेश छ। यो नै नेपाली खानाले सम्भवतः पहिलोपल्ट प्रवेश पाएको हुनसक्ने होटल व्यवसायी कर्ण शाक्यले बताएका थिए।

विदेशसम्मै पुगे पनि नेपालभर भने चुकाउनीको स्वाद फैलिन भ्याएको छैन। कतिले नाम सुनेका मात्र छन्, स्वाद चाखेका छैनन्। कतिले यसलाई ‘पाल्पाली अचार’ का नाममा मात्र चिन्छन्।

पाल्पा, अर्घाखाँची, गुल्मीतिरबाट बसाइँ सरेर विभिन्न क्षेत्र पुगेकाहरूले चिनजान–नातागोतालाई चखाएसँगै चुकाउनीको स्वाद फैलिएको हो।

पछिल्लो समय बढेको आन्तरिक पर्यटनले यसको स्वाद धेरैको जिब्रोमा अडेको छ।

चुकाउनी कसरी बनाउने त?

आवश्यक सामग्रीः

आलु– आधा किलो

दही– आधा लिटर

प्याज– आधा पाउ

धनियाँ– एउटा सानो मुठा

नुन– आवश्यकताअनुसार

कागती– एउटा वा चुक अमिलो– एक ठूलो चम्चा (दही अमिलो नभएमा)

तोरीको तेल– तीन ठूलो चम्चा

मेथी– एक चिम्टी

बेसार– एक सानो चम्चा

काटेको हरियो खुर्सानी– आवश्यकताअनुसार

तिल– ५० ग्राम

बनाउने तरिकाः

भान्छामा छिरिसकेपछि सबैभन्दा पहिले आलु उसिन्न भाँडो बसाल्नुस्। आलुका अरु अचार त पक्कै बनाउनुभएको छ! हो त्यत्तिकै गिलो भएपछि आलुलाई मझौला टुक्रामा काट्नुस्। फराकिलो भाँडोमा राख्नुस्, ताकि मोल्दा सजिलो होस्।

आलु उसिनिरहेको समयमा तपाईंले अरु साम्रगी ठीक पारिराख्नुस्। जस्तो कि, तिल भुट्नुस् र मसिनो गरी पिस्नुस्।

दही तयारी अवस्थामा होस्। मसिनो गरी प्याज काटिराख्नुस्। प्याज नराखे पनि चुकाउनी बनाउन सकिन्छ।

भाँडोमा काटेको आलु तयार छ हैन? त्यसमाथि काटेको प्याज राख्नुस्। नुन, भुटेको तिल र दही आलुमाथि खन्याइदिनुस्।

अब तोरीको तेल तताउन एउटा भाँडो चुल्होमा बसाल्नुस्। सूर्यमुखी या भटमासको तेल भए पनि हुन्छ।

तेल तातेपछि रातो खुर्सानी र मेथी फुराउनुस्। मेथी र खुर्सानी गाढा रातो हुँदै कालो हुन नपाउँदै बेसार राख्नुस्।

बेसारलाई कालो हुन नदिनुस् है!

अब आलु, र दही राखेको भाँडोमा खन्याएर झान्नुस्। खन्याएको तेल अलि सेलाएपछि हातले मोल्नुस्।

दही अमिलो नभएको खण्डमा चुक अमिलो या कागतीको रस हालेर फेरि मोल्नुस्।

हरियो धनियाँ काटेर माथिबाट फुर्रफुर्र छर्किनुस्।

देख्दैमा मुख रसाउने भएन त!

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID