
दाङ, २५ असोज। अबैध तरिकाले बालुवा ढुवानी गर्दै गरेको एउटा ट्याक्टर, टिप्पर र जेसिवीलाई लमही नगरपालिकाले नियन्त्रणमा लिएको छ ।
लमही नगरपालिका -६ अर्जुनखोला दोभानबाट आज दिउँसो करिब ५ बजेको समयमा बालुवा भरेर फर्किदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जानकारी दिनु भयो । त्यस्तै लमही नगरपालिका-८ गिधिनियाबाट एउटा टिप्पर र जेसिवी नियन्त्रणमा लिएको नगर प्रमुख चौधरीले जानकारी दिनु भयो ।
अबैध रुपमा संकलन गरेर राखेको बालुवा हिज मंगलबार लमही नगरपालिकाको टोलीले नापजाँच गरेर फर्किएको थियो । आज बेलुका सोही बालुवा ढुवानी गर्न लागेको सूचना प्राप्त भएपछि लमही नगरपालिकाको टोली गिधिनिया घाटमा पुगेर टिप्पर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ट्याक्टर वडा प्रहरी कार्यालय लमही, टिप्पर र ट्याक्टर प्रहरी चौकी सतबरियाको नियन्त्रणमा राखिएको छ ।





