काठमाडौँ । आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।
फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदान प्रदान, नवीन विचारको प्रवर्द्धन तथा व्यावहारिक सिकाइ र सूचना आदान प्रदानमार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए ।
फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यास सिकाउँदै उनीहरूको दक्षता र क्षमता प्रवर्द्धन गर्नेछ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ । फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।
त्यस्तै द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छन् । आयात–निर्यात व्यापार प्रवर्द्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशल सुन्दर श्रेष्ठलाई दिइएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा संघका अध्यक्ष वंशलले ब्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।