बन्द आँखाले सात छोरीको लालनपालन

गणतन्त्रनेपाल समाचारदाता

रामेछाप, २६ भाद्र। दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा

पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उनकै काँधमा आएको हो। चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ।

जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन् । काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उनलाई थिचेको छ।

चमेलीका आँखामा सानै उमेरदेखि धमिलो देख्ने र टाढाको वस्तु नदेख्ने समस्या थियो तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्योति पूरै गुमे। आँखा बन्द भएपछि पनि सन्तान जन्मिने क्रम भने रोकिएन।

उनका थप चार छोरी जन्मिए।चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले उपचारका लागि बुँताले भ्याएसम्म गरे। थाहा पाएसम्मका अस्पताल घुमाए ।ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु-याए​ तर काम लागेन।

उनको आँखाको ज्योति फर्किएन। यस्तैमा चमेलीको जीवनमा अर्को बज्रपात आई लाग्यो। जीवनको सहारा पतिलाई पनि उनले गुमाइन्। श्रीमान् पनि गुमाएपछि संसार देख्ने उनको इच्छा हरायो। साना छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो। – गोरखापत्र दैनिकबाट

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID