दाङ, २१ श्रावण । दाङकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बिगत तीन बर्ष देखि लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा तत्काल फुकुवा नभए स्थानीय सरकारले राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका छन् । अध्यक्ष बिष्टले आज आइतबार आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेखेर तत्काल जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा कुनै सहयोग नगर्ने चेतावनी दिएका हुन् ।
स्टाटसमा अध्यक्ष बिष्टले अगाडी लेखेका छन्, “लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्ली चौधरी र अर्थमन्त्री माननीय धनबहादुर मास्की काठमाडौबाट फर्किए लगत्तै तीन बर्षदेखि रोक्का रहेका जनताको जग्गा तुरुन्तै क्याबिनेट बसेर फुकुवा गर्ने सहमति भएको हो । भर्खरै बामे सर्दै गरेको राजधानीको शहरलाई सुन्दर र ब्यवस्थित बनाउने विषयमा हामी पनि अत्यन्तै गम्भीर छौं,” उनले लेखेका छन् ।
साथै उनले “यसमा सबै पक्षको साथ सहयोग हुन जरुरी पनि छ ।तर जनताको सम्पत्ति यति लामो समय यो वा त्यो बहानामा रोकिराख्नु त्यति उचित होईन । प्रदेश सरकारले जग्गा फुकुवाको निणर्य तत्काल गर्नुपर्छ, यदि नगरेमा राजधानी ब्यबस्थापनमा स्थानीय सरकारले कुनै पनि सहयोग नगर्ने ब्यहोरा समेत लुम्बिनी प्रदेश सरकार समक्ष जानकारी गराउदछु ।” अध्यक्ष बिष्टले स्टाटसमा लेखेका छन् ।
गत बैशाख २८ गते सरकार र जग्गा फुकुवा सघर्ष समिती संग भएको वार्तामा एक महिना भित्र जग्गा फुकुवा गर्ने सहमति भएको थियो तर सरकारले विभिन्न बहाना देखाउँदै अहिले सम्म जग्गा फुकुवा गर्न तयार देखिएको छैन । यता केहीदिन पहिले सरकारका प्रबक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुमा साउन २० गते भित्रै जग्गा फुकुवा हुने भनि अभिव्यक्ति समेत दिएका थिए । तर आज साउन २१ गते सम्म पनि प्रदेश सरकार जग्गा फुकुवा तर्फ टसमस देखिएको छैन ।