रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

गणतन्त्र नेपाल समाचारदाता

चितवन,२१ साउन। ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए । अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो । मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।

रास्वपाले रंग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो । रास्वपाको झण्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको थियो । उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको स्रोतले बताएको छ ।

रास्वपाले महिलाहरुका लागि निःशुल्क सन्चालनमा ल्याएको बस पनि अनुमति नलिइ निलो रंगमा परिवर्तन गरेको पाइएको यातायात कार्यालय भरतपुरले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID