एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१९ श्रावण । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ ।

अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।

उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।

छलफलमा सहभागी महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री दाहालले अनुसन्धानको कानूनी पाटोबारे जिज्ञासा राखेपछि संगठित अपराध देखिएपछि नेपाल प्रहरीमार्फत अनुसन्धान गर्नुपर्ने राय राखेको बताए ।

‘सुन बरामद भएपछि राजस्व चुहावट देखिएकाले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ, यसमा अन्यथा भएन । तर अनुसन्धान गर्दै जाँदा संगठित अपराधको तत्व फेला परेको रहेछ’, महान्यायाधीवक्ता पोखरेलले भने, ‘त्यसैले कानूनी व्यवस्था अनुसार संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।’

लगत्तै प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएको उनले बताए ।

सुन कुनै कुराको मोड अफ पेमेन्टका रुपमा प्रयोग भएको छ कि भन्ने शंका हो । सँगै हुण्डीदेखि अरु कुरा पनि जोडिने भएकाले वृहत अनुसन्धान हुन्छ – किरण बज्राचार्य, सीआईबी, निर्देशक

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शुन बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।

विभागले हालसम्म राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । तर, सुन प्रकरणमा संगठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय भएको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार, राजश्व अनुसन्धान विभागमार्फत राजश्व छलीको कसुरमा अनुसन्धान जारी रहन्छ भने संगठित अपराधको कसुरमा सीआईबीले वृहत अनुसन्धान गर्नेछ ।

लामो समयदेखि भइरहेको सुन तस्करीको माथिल्लो तहमा एकैखाले गिरोहको संलग्नता देखिने गरेकाले पुराना अनुसन्धानहरुलाई पनि जोडेर हेर्नुपर्ने सीआईबीका पूर्वनिर्देशक पुष्कर कार्की बताउँछन् । ‘सीआईबीबाट यसमा वृहत अनुसन्धान हुनु राम्रो हो, त्यसमाथि यसमा हुण्डीदेखि अरु कसुरको पनि अनुसन्धान गर्नुपर्ने हुनाले ढिलाइ गर्नु हुने थिएन’, उनले भने ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले सुनका पुराना मुद्दाहरुसँग समेत जोडेर थप अनुसन्धान हुने बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘सुन कुनै कुराको मोड अफ पेमेन्टका रुपमा प्रयोग भएको छ कि भन्ने शंका हो । सँगै हुण्डीदेखि अरु कुरा पनि जोडिने भएकाले वृहत अनुसन्धान हुन्छ ।’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID