पत्नी वियोगको बेला सबैको साथ पाएँ, पीडाबाट निस्किन प्रेरित गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले ।’

पार्किन्सन्सजस्तो देखिने एकप्रकारको जटिल रोगबाट लामो समय थलिएकी सीता दाहालको गत असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली उनले पाएको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने ठानेको प्रचण्डले बताए ।

उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीवोध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, साँस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरु सबैको सदभाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौं ।’

सीता बिरामी परेपछि राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुन सक्ने सबैखाले पद्दतीबाट उपचारको प्रयास गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराए । बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको स्मरण उनले गरे ।

उनले सीताको उपचारमा संलग्न चिकित्सक लगायत सबैलाई धन्यवाद ज्ञापन गरे । शोकको घडीमा मित्र राष्ट्र र संसारका सबैजसो राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुबाट आत्मीय सहानुभूति र ऐक्यबद्धता पाएको भन्दै उनले कृतज्ञता व्यक्त गरे ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका नेता झनाथ खनाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID