
गढवा, १५ असार । दाङ देउखुरीको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६, का कार्यालय सहयोगी अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएरात्रि राजपुर-५, जंग्रहवा चोकमा अनियंत्रित भएर दुर्घटना हुँदा बिक गम्भीर घाइते भएका थिए ।
कालाकाटे–सिक्टा जोड्ने हुलाकी सडकमा अहिले बाटो पिच र नाली निर्माण हुँदै छ । नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका बिक लडेर सिमेन्टबाट निर्माण भएको बल्क इट्टामा ठोक्किएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
बिकको बल्क ईट्टामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बिकलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रम शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।
शान्ति नगर गाउँपालिका वडा नम्बर ७, खैरेनी घर भएका अन्दाजी ३३ वर्षीय निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत रहनुभएको थियो । स्वास्थ्य चौकीमा कुनै प्रमुख नभएपछि अहिले उहाँलाई निमित्त प्रमुखको जिम्मेवार दिइएको थियो ।
त्यस्तै मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । मृतक बिकको शबलाई आफन्तले वास्तविक घटना थाहा नपाउदासम्म ल्याउने भनेपछि अहिले बिकको सबलाई कोहलपुर मेडिकल कलेजमै राखिएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम रोकाले जानकारी दिनुभयो ।
यसैबिच राजपुर गाउँपालिकाले शोक विज्ञप्ती जारी गरेको छ । राजपुर गाउँपालिकाको स्वास्थ्य चौकी गंगदीमा इन्चार्जको रुपमा कार्यरत सि.अहेव.तारा प्रसाद बिक एक मिहिनेती, कर्मठ तथा इमानदार कर्मचारी गुमाएको प्रति दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेको हो ।
