पहिलो वर्षातमा नै जलमग्न दाङको घोराही बजार

गणतन्त्रनेपाल समाचारदाता

घोराही, ९ असार । पानी निकासको नाला व्यवस्थित नहुँदा शनिबार परेको पानीले घोराही बजार जलमग्न बनेको छ ।

गतवर्ष २०७९ जेठ १४ गते पनि साढे दुई घण्टा पानी पर्दा घोराही बजार क्षेत्र जलमग्न भएको थियो । यस वर्ष वर्षातको शुरुमै बजार जलमग्न भयो । मुख्य सडक र सहायक सडकमा पानी भरिएर सडक छेउका घर र पसलमा पानी पसेको छ ।

२०७८ सालमा पनि घोराही बजारको स्वर्गद्वारी एफएम रोड र वरिपरिको क्षेत्रमा पानी पसेर सात घर डुबानमा परेका थिए । पानीको उचित निकास व्यवस्थापन हुन नसक्दा घोराही बजारमा सधै यस्तो नियति व्यहोर्नु परेको छ । बजारको तुलसीपुरचोकदेखि पश्चिम, स्वर्गद्वारी एफएम रोड र बजार क्षेत्रमै वर्षातमा पानीले डुबान हुने गरेको छ । घोराही उपमहानगरपालिकाको पूर्वाधार विकास तथा भूमि व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले कटुवाखोलादेखि रतनपुरसम्मको फोरलेन सडकअन्तर्गत माला इन होटल अगाडिदेखि डिके पेट्रोल पम्पसम्मको भागमा डुबान बढी हुने गरेको बताए पनि पानी निकासको उचित व्यवस्थापन गरिएको छैन । माला इन होटलदेखि प्रयास हार्डवेयरसम्मको क्षेत्रमा ६० सिएम डायमिटरको मात्रै ह्युमपाइप रहेकोले त्यस क्षेत्रको पानी पाँच मिटर गहिरोबाट उचो भाग विपीचोकतर्फ निकास गर्नाले डुबानको जोखिम बढेको बताइन्छ ।

तुलसीपुर चोकदेखि पश्चिममा पनि पानीको निकास नै छैन । इञ्जिनियर रामधन श्रेष्ठका अनुसार पहिले बनेका पानी निकासको संरचनाले अहिले धान्न नसक्ने अवस्था आएको हो ।

यता शहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत घोराही बजारका भानुचोकदेखि गुलरिया चोकसम्मको नालामा सडकको पानी जाने ठाउँ नबनाइँदा पानी जम्ने समस्या छ । घोराही बजारको भानुचोकदेखि गुलरिया चोकसम्म, नेपाल बैंक लिमिटेड अगाडिदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन कार्यालयसम्म र बुद्ध हस्पिटल अगाडिबाट धारापानी जाने रोडको भरतपुर क्याम्पसको लास्ट प्वाइन्टसम्म सडकमा पसेको पानी जाने निकास नभएको घोराही उपमहानगरपालिकाका इञ्जिनियरले बताएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID