
काठमाडौं, २५ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुुभएको छ । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुुभयो ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पत्रकारितामा महिलाहरुको प्रवेशलाई प्राठथमिकता दिनुपर्ने र उनीहरु सम्मानजनकरुपमा पेशामा टिकिरहने बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुुपर्ने बताउनुुभयो ।

नेपाल पत्रकार महासंघका साढे १३ हजार सदस्यमध्ये दुई हजार चार सय मात्रै महिला देखिएको भन्दै उहाँले १८ प्रतिशतको हाराहारीमा रहेका महिला पत्रकारको संख्यालाई न्यूनतम ३३ प्रतिशत बनाउनतिर लाग्नुुपर्ने बताउनुुभयो । महिलालाई पत्रकारितामा टिकाइराख्न उनीहरुको दक्षता बृद्धि, वृत्ति विकास, सञ्चारमाध्यमको सम्पादकीय भूमिकामा उचित स्थान र समाचार कक्षमा महिलामैत्री वातावरण बनाउन सञ्चारमाध्यमहरुले ध्यान दिनुपर्नेमा मन्त्री शर्माले जोड दिनुुभयो ।
सरकार समग्र पत्रकारिता क्षेत्रको विकास र त्यसमा महिला सहभागिता बृद्धिका लागि गम्भीर रहेको उल्लेख गर्दै उहाँले पत्रकारितामा प्रवेश गर्न चाहनेहरुका लागि आवश्यक तालिम र प्रवेश गरिसकेकाहरुका लागि निरन्तर क्षमता वृद्धिका आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । ‘त्यसमा महिलाका लागि छुट्टै के व्यवस्था गर्न सकिन्छ, विज्ञ साथीहरुबाट पनि आवश्यक सुझावका लागि आग्रह गर्दछु । यस्ता सिर्जनात्मक कामका लागि निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग पनि सरकार सहकार्य गर्न चाहन्छ । यसका साथै हरेक सञ्चारमाध्यमहरुले आन्तरिक क्षमता बृद्धिका कार्यक्रम सञ्चालन गर्ने र त्यसमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके पत्रकारिता क्षेत्रमा महिला सहभागिता बृद्धि गर्न र उनीहरुलाई टिकाइरहन सजिलो हुनसक्छ’– उहाँले भन्नुुभयो ।
आम सञ्चारको क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि योजना बनाउन म्यागले तयार गरेको प्रतिवेदन पनि महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यसबाट नीति निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । मूलधारका सञ्चारमाध्यममा वीट निर्धारण गर्दा महिलालाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने, महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने, लैङ्गिक उत्तरदायी मिडिया नीतिको निर्माण गर्नुपर्नेलागयतका सुझावहरु महत्वपूर्ण रहेको औल्याउँदै मन्त्री शर्माले भन्नुभयो– ‘यीमध्ये सरकारको दायित्वभित्र रहेका काम सरकारले गर्नेछ भने आम सञ्चारका माध्यमहरुलाई पनि यसप्रकारका नीति बनाउन र कार्यान्वयन गर्न प्रोत्साहन गरिने छ ।’




