
तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मतदानको समय सकिएको छ।
बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन भएको हो।
यो उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनको भन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ। आज भएको मतदानको अन्तिम विवरण आउन बाँकी छ।
तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने अहिले ५१ प्रतिशत खसेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
‘पाँच बजेपछि कुनै पनि बुथमा लाइन छैन,’ उनले भने।
बारा-२ मा पनि साढे ४ बजेसम्मको विवरणअनुसार ५६ प्रतिशत मत खसेको छ। यो संख्या ६० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यस क्षेत्रमा गत मंसिरमा ६४ मत खसेको थियो। यो क्षेत्रमा पनि अहिले मतपेटिका संकलन गर्ने काम सुरू गरिएको छ।
यस्तै चितवन-२ मा भने मतदान जारी नै रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।
‘लाइनमा भएकाहरूले मतदान गर्न पाउने भएकाले मतदान भइरहेकै छ,’ उनले भने।
साढे ४ बजेसम्म अन्दाजी ५५ प्रतिशत मत खसेको उनले बताए। गत मंसिरमा भने ७२ प्रतिशत मत खसेको उनले बताए।





