गढवा, २ चैत । गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीले खेल स्वास्थ्यको लागि मात्र नभई देशको लागि पनि अभिन्न अंग भएको बताउनुभयो। जसरी स्वास्थ्यको लागि खेलको आवश्यक्ता पर्दछ त्यसरी नै राष्ट्रको लागि पनि खेलाडी र खेल नभई नहुने हिसावले खेललाई ब्यापक बनाउदै लैजानु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पहिले अध्यक्ष कप प्रतियोगिता लाई परिमार्जन गरी पालिका स्तरीय खेलकुद प्रतियोगिता र अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरु बिचको मैत्रिपुर्ण फुटबल प्रतियोगिताको लगाएतको अन्य केही खेल थप गरिएको बताउनुभयो। अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगितामा बिशेष गरी देउखुरीका तिन दुई पालिका र एक नगरपालिका लाई समेटेर जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताले समग्र देउखुरीको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बिस्वास आफुले लिएको बताउनुभयो । आगामी दिनमा गढवा गाउँपालिका लाई खेलको हव नै बनाउने तर्फ आफु अग्रसर रहेको बताउदै आगामी बर्षहरुम् अन्य थप खेलहरु समाबेश गरिने बताउनुभयो। गढवा गाउँपालिका लाई खेलकुदको क्षेत्रमा विकाश गर्न लागिपरेको र पालिकामा पालिका स्तरीय खेलकुद समिति र वडाहरुमा वडा स्तरीय खेलकुद समिति समेत गठन गरि सकेको बताउनु भयो।
गढवाको जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा फागुन २७ गते समुद्घाटन गरिएको खेलमा फुटबल, क्रिकेट, भलिबल, सितोरियो कराते, पालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा गढवा गाउँपालिकाका महिला जनप्रतिनिधि तथा कर्मचारीहरु बिचको फुटबल प्रतियोगिता र अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरु बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको खेल भएको थियो।
अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरु बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको खेलमा गएको शनिबार भएको खेलमा राजपुर गाउँपालिका लाई हराउँदै गढवा र राप्ती गाउँपालिका लाई हराउँदै लमही नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।
लमही नगरपालिका र राप्ती गाउ पालिका बिचको खेल निर्धारित समयमा खेल बराबरी हुदा पेलान्टी सुट बाट लमहीले जित हाँसिल गर्न सफल भएको थियो ।
फाइनल खेलमा गढवा गाउँपालिका र लमही नगरपालिका मैत्रीपूर्ण खेलमा दुबै टिमले बराबरीमा खेल सकिएपछी पेनाल्टी सुटआउटमा लमही नगरपालिकाले रोचक खेल प्रदर्शन गर्दै गढवा गाउँपालिका लाई हराएको थियो।
त्यसैगरी गढवाका विभिन्न संघसंस्थाका र गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बिचको खेलमा जनप्रतिनिधि तथा कर्मचारीहरुको टिमले तिन गोल गर्दै फराकिलो अन्तरले विजयी भएको थियो।
त्यसैगरी वडा नम्बर १ र वडा नम्बर ७ बिच भएको पुरुष तर्फको खेलमा दुबै टिमले एक एक गोल गरेपछी पेनाल्टी सुटआउटमा वडा नम्बर १ ले पेनाल्टी सुटआउटमा गोल गरी प्रथम स्थान हाँसिल गर्न सफल भएको हो।
विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने टिमलाई नगद, सहित सम्मानित गरिएको थियो।
खेलकुद प्रतियोगिताको अवसर गढवा गाउँपालिकाका विभिन्न खेलमा देश बिदेशमा ख्याति प्राप्त खेलाडीहरुलाई सम्मान समेत गरिएको गढवा गाउँपालिकाले जनाएको छ ।
समापन कार्यक्रममा विभिन्न संघसंस्था, राजनीतिक दल, नागरिक समाज, प्रहरी, पत्रकार, स्थानीय बुद्धिजीवी, लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउंपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।