महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन

गणतन्त्रनेपाल डटकम

यसपालि ‘महिनावारीका कुरा’ मा हामीले कोरियोग्राफर तथा फिल्म निर्देशक रेनेशा राईको अनुभव समेटेका छौं । ३० वर्षीया रेनेशा १९ वर्षकी हुँदादेखि कला क्षेत्रमा जोडिएकी हुन्। ‘चियाबारीमा’, ‘वनमा फुल्यो फूल’, ‘मै ठूली भएछु रे’ जस्ता थुप्रै गीतमा कोरियोग्राफी गर्दै अगाडि बढेकी रेनेशाले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् ।

म पहिलोपटक महिनावारी हुँदा खुसी भएकी थिएँ। मेरो कक्षामा महिनावारी हुन बाँकी म मात्र थिए। सबैजना महिनावारी भइसकेका थिए। म मात्र हुन बाँकी भएर पनि होला मलाई महिनावारी हुँदा एकदमै खुसी लाग्यो।

ल म पनि महिनावारी भएँ भन्ने भयो। डर पनि लागेन।

पहिलोपटक महिनावारी हुँदा म कक्षा आठमा पढ्थेँ। पहिलोपटक घरमै हुँदा महिनावारी भएकाले मलाई कुनै पनि अप्ठ्यारो परेन।

मेरो जन्म पाँचथरको फिदिममा भएको हो। म घरकी माइली छोरी हुँ। तीन छोरी नै छोरी भएको घरमा जन्मिएकी मलाई महिनावारी हुँदा कुनै पनि कठिनाइ भएन।

घरमा पहिले नै दिदी महिनावारी भइसक्नुभएको थियो। त्यही भएर सबैले सामान्य नै माने। मलाई पनि त्यस्तो केही भएन। एउटा समय भएपछि महिनावारी हुन्छ भनेर थाहा पाएर पनि होला।

मंगोल समाजमा महिनावारीका बेला बार्ने चलन छैन। त्यसैले पनि मैले घरमा यहाँ नछोऊ, त्यहाँ नछोऊ भनेको कहिल्यै सुनिनँ। मलाई याद भएसम्म म पहिलोपटक महिनावारी हुँदा घरमा सामान्य रूपमा नै बसेको थिएँ।

धरैजसो महिलाहरूलाई शारीरिक कठिनाइ हुन्छ। मलाई भने केही हुँदैन थियो। त्यसैले पनि घरमा कोही महिनावारी भएको, नभएकोबारे कसैलाई पनि थाहा हुँदैन थियो। पेट दुख्ने समस्या भएको भए पनि थाहा हुन्थ्यो होला। तर मलाई कहिलेकाहीँ ढाड मात्र दुख्थ्यो।

महिनावारीको समयमा मेरो मुड स्विङ (मुड बदलिरहने) भने हुन्छ। म त्यस बेला आफ्नो कुरा अरूलाई सुनाउँछु।

महिनावारी बार्ने चाहिँ पहिलेपहिले स्वास्थ्यको दृष्टिकोणले होला। सबै कुराको हेर्ने दृष्टिकोण हुने रहेछ। त्यो समयमा स्वास्थ्यको दृष्टिकोणका कारण बारिएको थियो सायद। सोही कुरालाई पछि आस्थासँग पनि जोडियो। आस्थासँग जोडिएपछि मानिसहरूले बार्ने चलन थाले। जुन त्यो समयमा ठिक थियो होला।

त्यस्तै महिनावारीपछि नुहाउने, लत्ताकपडा धुने लगायत काम हुन्छ। यी कुरा स्वास्थ्यको दृष्टिकोणले भनिएको होला।

पहिले पहिले आस्थासँग कुनै पनि कुरा जोडिदिँदा मानिसहरू अनुशासनमा बस्ने भएकाले महिनावारीलाई धर्मको कुरामा जोडिदिएर बार्ने गरेको पनि होला।

महिनावारी बार्दा र नबार्दाको दुवै पक्ष छन्। स्वास्थ्य र स्वच्छतासँग जोडेर हेर्ने हो भने महिनावारी भएको बेला महिलाले झनै विशेष ध्यान दिनुपर्छ है भनेर सम्झाएको होला भन्ने बुझ्छु। तर महिनावारी भएकै कारण छुन नहुने, महिलाले गर्ने सबै कुरामा रोक लगाउनु गलत हो।

मेरा छोरीको पालासम्म यो हट्ला भन्ने विश्वास छ। मेरो आमाको पुस्ताबाट ममा आउँदा ५० प्रतिशत परिवर्तन भइसकेको छ। छोरीको पुस्तामा त पूर्ण रूपमा परिवर्तन हुन्छ। यसलाई ठूलो कुरा बनाउन जरूरी नै छैन।

महिनावारी भएको समयमा महिलामा शारीरिक परिवर्तनका साथसाथै मानसिक परिवर्तन समेत आउँछ। त्यसैले यस्तो बेला सबै आमाबुबाले विशेष ध्यान पुर्‍याउनुपर्छ।

अहिले पनि कतिपय महिला महिनावारीको समयमा मन्दिर जान, भान्छा कोठामा जान हिचकिचाउने गर्छन्। तर ती सबै मानिसको स्वैच्छाको कुरा हो। कोही मानिस महिनावारीको समयमा स्वैच्छाले मन्दिर जाने वा नजाने गर्नुहुन्छ भने त्यो उहाँहरूको कुरा हो। तर कसैले महिनावारीको समयमा तँ यताउता जान र काम गर्न पाउँदिनस् भनेर रोकटोक गर्ने काम गर्नु हुँदैन। यी कुरा मानिस अनुसार फरक पर्छन्। तर अरूले भनेको भरमा निर्णय लिनु हुँदैन।

महिनावारी भएको समय अचार छुँदा कुहिने, बारीमा फल छुँदा बिग्रिने लगायतका कुराहरू बैज्ञानिक होइनन्। यस्ता कुरा गर्दा महिनावारी भएको समयमा महिला भनेको कुसाइत र नराम्रो ऊर्जा भएको जस्तो ढंगले मात्रै व्याख्या गरिएको हो भन्ने आभाष हुन्छ। यो कुरा भनेको ढिलो चाँडो परिवर्तन हुन्छ।

महिनावारी भनेको एकदमै सामान्य कुरा भनेर घरका सदस्यहरूले बुझ्न जरूरी छ। पहिलोपटक महिनावारी हुँदा लुकाएर राख्ने चलन गलत हो। एउटा महिलालाई बन्द कोठामा राख्दा उनको दिमागमा के कस्ता कुराहरू खेल्दा हुन्? यो त अब तिमी कमजोर भयौं भनेर बन्द कोठामा लुकाएर राखिएको भयो नि!

महिनावारीका बेला गाह्रो कहिलेकाहीँ काममा गाह्रो हुन्छ। यस्तो बेला म अरूसँग सहयोग मागेर काम गर्छु। ठूलो टिमसँग काम गर्दा आफ्नो कारण सुटिङ नै क्यान्सिल पनि गर्न सकिँदैन। सुटिङ युनिटमा भएका क्यामराम्यान लगायतलाई आफूलाई महिनावारीका कारण सन्चो नभएको र सुटिङ अलि छिटो प्याकअप गर्ने भनेर जानकारी दिन्छु।

जुनसुकै पुरूषको घरमा महिलाहरू हुन्छन्। हामीले कुरा बुझ्दैनन् भनेर कुरा साट्न हिचकिचाउनु हुँदैन। जबसम्म हामी आफैं बोल्न अप्ठ्यारो मान्छौं तबसम्म अरूले केही पनि गर्न सक्दैनन्। त्यसैले सुरूमा त आफ्नो कुरा राख्नुपर्छ। अनि बल्ल बुझ्नुहुन्छ। लज्जित हुनुपर्ने समय पनि छैन।

सेतोपाटीका मन्दिरा घिमिरेले रेनेशासँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID