कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैँ । नेपाली कांग्रेसले आज (शनिबार) पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसाे २ः०० बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण नटुङ्गिएका कारण बैठकमा सो बारे छलफल हुने बताइएकाे छ । यही जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उनले बताए। त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ। पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ/नगर वडाकाे अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिकाकाे अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाकाे अधिवेशन असार २७ गते तोकेको छ। यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ।

बैठकमा कांग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनःगठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID