दाङ, १७ फागुन। देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ ।
त्यस्तै उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोका मगरले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
संघीय मन्त्रालयद्वारा विनियोजित २५ लाखको बजेटबाट निर्माण हुनलागेको सो तीन कोठे भवन निर्माण कार्यको ठेक्का केसी निर्माण सेवाले लिएको वडाध्यक्ष रोका मगरले जानकारी दिनु भयो ।
उहाँका अनुसार यो सेवा सुरु भयो भने ६ नम्बर वडा नाका क्षेत्रको कल्याणपुर,खाङ्ग्रा,अडबरुवा,बैरवा,गौरिया, गन्धेला,छेकरिया,डगमारा गाउँका नागरिकले सेवा लिने छन् ।
त्यस्तै यस अघि प्रसूतिको लागि नेपाल आउनको लागि बाटोको कारण सम्भावना नभएको र प्रस्तुति गराउनको लागि इन्डिया जानुपर्ने बाध्यता रहेको थियो ।
तर अहिले उक्त प्रसूति सेवा नाकामै सुरु हुनेभएपछि विगतमा भोग्दै आउनु परेको समस्याबाट नागरिकहरु मुक्त भएको वडा अध्यक्ष रोका मगरले जानकारी दिनु भयो ।
यसैगरी राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले नाका क्षेत्रको हकमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा विगत केहीवर्षदेखि यता प्रसूति सेवा संचालन भइ सेवा दिदै आइरहेको जानकारी दिनु भयो ।
यस्तै उता वडा नम्बर १ पटौली नाकामा एकीकृत सेवा केन्द्रको रुपमा अहिले गापाको बजेटबाट सुविधा सम्पन्न भवन निर्माण हुँदै गरेको बताउनु भयो । तर उक्त भवन एकीकृत सेवाको लागि निर्माण भएपनि प्रसूति सेवा प्रदान गर्न सकिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
त्यस्तै अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा नाका क्षेत्रको वडा नम्बर १ पटौली,वडा नम्बर ६ को खाङ्ग्रा,वडा नम्बर ७ को भैसाही नाकाको गाउँमा पुर्व-पश्चिमका नागरिकलाई सहज हुनेगरि ३ ठाउँमा एकीकृत स्वास्थ्य चौकीको लागि सुविधा सम्पन्न दुई तल्लाको भवन निर्माणगरि सेवा प्रदान गर्ने योजनामा रहेको बताउनु भयो ।
यस्तै अबका हरेक स्वास्थ्य शिविरहरु नाका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर संचालिन गर्ने समेत राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।