काठमाडौँ, ११ फाल्गुन । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री दाहालले बिहीबार सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्न लागेका छन् । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार राष्ट्रपति निर्वाचनबारे नेपाल र यादवसँगको छलफलपछि दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति, राष्ट्रिय सहमति जुटेन भने अधिकतम सहमति जहाँनेर जुट्छ त्यहाँ जाने भन्ने हो,’ उनले भने ।
कांग्रेस नेता रमेश लेखकले बिहीबार नै राष्ट्रपति निर्वाचनबारे माओवादी लगायतका राजनीतिक दलहरूसँग छलफल हुन लागेको जानकारी दिएका छन् । अहिले कांग्रेसका शीर्ष नेताहरू आन्तरिक छलफलमा रहेका छन् ।
नयाँ राष्ट्रपति चतनको विषयलाई लिएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका राजनीतिक दलहरूको बिहीबार निर्णायक छलफल हुन लागेको छ । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा दुई पक्षीय र बहुपक्षीय छलफल गर्ने र साँझ सबै राजनीतिक दलहरू एकठाउँमा बस्ने तयारी भइरहेको बताइएको छ ।
प्रधानमन्त्री निवासमा बुधबार कांग्रेस सभापति देउवा लगायत नेताहरूले प्रधानमन्त्री दाहालसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरेका थिए । बुधबार पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका नेताहरूले दुईपक्षीय छलफल गरेका थिए । त्यसपछि बालुवाटारमा भएको छलफलमा कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनाउने समझदारी भएको थियो ।
बिहीबार हुने बैठकमा बुधबारको बालुवाटारमा भएको समझदारीलाई औपचारिकता दिनका लागि भावी सत्ता समीकरणको खाकासमेत तय गर्ने बताइएको छ ।