काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा हुने बताएका छन्। बुधवार एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन्।
कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मिति तय गरेको भएपनि क्रियाशील सदस्यता वितरणको काम सकिइ नसकेको बताइएकाे छ । यद्यपि देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएकाले यसमा आफु पूर्ण प्रतिवद्ध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु। पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्।’
महाधिवेशनको विषयलाई लिएर कसैले कसैलाइ भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताउँदै उनले पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको बताएका छन्। असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारीलगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने उनले बताएका छन् । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको र पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उनको भनाई छ।
सभापति देउवाले थपेको डेढ वर्षको कार्यकाल सकिने भएकाले भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने हुन्छ।