यौन दुर्व्यवहारबाट पीडित राउटे युवतीको जीवन रक्षा गर्न माग

गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । जवाफदेहिता निगरानी समितिले सुर्खेत गुर्भाकोटका राउटे समुदायका युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चरण प्रसाईं नेतृत्वको सो समितिले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो छुट्टै पहिचान बोकेको सो समुदायका २ युवतीमाथि यौन दुर्व्यवहार गरी चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा भिडियो राख्ने पीडकहरुलाई कानून बमोजिम कारबाहीका लागि पहल गर्नसमेत आग्रह गरेको छ ।

विज्ञप्तिमा युवतीमाथि गरिएको दुर्व्यवहारको भिडियोसमेत युट्युवलगायतका सामाजिक सञ्जालबाट हटाउन र सो कार्य गर्ने व्यक्तिहरुलाईसमेत कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा पीडित युवतीहरूलाई राउटे समुदायको नियमबमोजिम आफ्नो समुदायबाटसमेत बहिष्कार गर्ने र जीउ ज्यानमा समेत खतरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले उनीहरुको जीवन रक्षा गर्न सरकारलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘पीडित युवतीहरूलाई राउटे समुदायको नियम बमोजिम आफ्नो समुदायबाट बहिस्कार गर्ने, जीउ ज्यानमा नै खतरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले पीडितहरुमाथि दोहोरो हिंसा हुनसक्ने प्रवल सम्भावना देखिएको हुँदा निज युवतीहरूको जीवन रक्षाको लागि तत्काल विश्वसनिय सुरक्षा व्यवस्था गर्न र पीडित युवतीहरूको गोपनियतालगायत जीवन रक्षाको अधिकार संरक्षण गर्न नेपाल सरकारलगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै यथाशीघ्र कारवाही अघि बढाउन आग्रह गर्दछौं ।’

ती युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमन बहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID